१४ मंसिर, मोरङ । संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजना समयमै सम्पन्न गर्न सडक संरचना चुनौती बनेको छ ।
९ सय मेगावाटको जलविद्युत परियोजना सन् २०२२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सडकका कारण समयमा पूरा गर्न कठिन देखिएको हो ।
अरुण ३ परियोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सतिशकुमार शर्माले कोशी राजमार्गको अवस्था जीर्ण रहदा समस्या हुन सक्ने बताए । ‘बर्खामा त सडक चल्दैन’ उनले भने ‘कोशी राजमार्ग स्तरोन्नति गर्न आवश्यक छ ।’
बर्खामा मात्र नभई अन्य समयमा पनि राजमार्गका कारण निर्माण सामाग्री ढुवानी गर्न समस्या हुन सक्ने बताए ।
निर्माणाधीन परियोजना स्थल पुग्ने मुख्य सडक कोशी राजमार्ग नै हो । अन्य विकल्प नभएका कारण समस्या भएको उनको भनाइ छ । परियोजना निर्माणाका लागि आवश्यक सामाग्री ढुवानी गर्ने राजमार्ग स्तरउन्नति हुन जरुरी रहेको उनले बताए ।
नेपाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयादिल्लीबाट गत बैशाख २९ गते स्वीच थिचेर अरुण तेस्रो परियोजनाको शिलान्यास गरेका थिए । यो आयोजना निर्माणको जिम्मा भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले पाएको छ ।
शिलान्यासलगत्तै परियोजना निर्माणको काम अघि बढेको छ । हाल सुरुङ निर्माण र ड्याम साइडमा काम भइरहेको बताउदै सीईओ शर्माले निर्माण सामाग्री ढुवानीका लागि केही समस्या हुने बताए । उनले इन्टरनेटको पहुच नहुदा पनि काम गर्न समस्या भएको बताए । हाल ड्याम स्थलमा दिउँसो मात्र इन्टरनेटको पहुच छ । २४ सै घण्टा आयोजना स्थलमा इन्टरनेट आवश्यक रहेको उनले बताए ।
परियोजना निर्माणाका लागि सन २०११ मा १ खर्ब ४ अर्ब लागत अनुगमान गरिएको थियो । तर आठ बर्षपछि निर्माण सुरु हुँदा निर्माण लागत बढेर १ खर्ब २० अर्ब पुग्ने प्रक्षेपण गरिएको शर्माको भनाइ छ ।
परियोजना निमार्णका लागि १४ लाख ४२ हजार ७ सय २७ घनमिटर वालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने जानकारी दिइएको छ । आयोजनाका लागि आयात गरिने सिमेन्ट, रड तथा स्टिलजन्य सामग्री खरिद गर्दा भन्सारमा ५० प्रतिशत छुट दिइने ब्यवस्था पीडीएमा छ ।
निर्माणका क्रममा ३००० हजार स्थानीयलाई प्रत्यक्ष रोजगारी दिने र प्रभावित परिवारलाई प्रतिमहिना ३० युनिट विद्युत निशुल्क उपलब्ध गराउने समझदारी छ ।
By Nirdesh pokharel
Post a Comment