एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले दुई गोल गरेपछि चेल्सीले यूईएफए युरोपा लिग अन्तर्गत समूह ‘एल’ को खेलमा पाओक सलोनिकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलको सातौं मिनेटमा नै ग्रीक टोली पाओक १० खेलाडीमा सिमित भएको थियो । ओलिभिएर जिरुडलाई गोल गर्ने अवसरबाट बन्चित गर्न फल गरेपछि रेफ्रीले उनलाई सिधारी रातो कार्ड देखाएका थिए । उनै जिरुडले २७ औं मिनेटमा चेल्सीको लागि पहिलो गोल गरे । उनले पेड्रोको पासमा उत्कृष्ट फिनिसको नमुना प्रस्तुत गर्दै सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफमा नै चेल्सीले अग्रता दोब्बर पार्यो । ३७ औं मिनेटमा मिडफिल्डर सेस फाब्रीगासको चिप पासमा जिरुडले उत्कृष्ट भली प्रहार गर्दै २-० को अग्रता दिलाए । चेल्सी प्रशिक्षक मौरीजियो सार्रीले टोटेनहमसँग पराजित भएको टोलीबाट १० खेलाडी परिवर्तन गरेका थिए । मोराटाको स्थानमा आएका जिरूडले राम्रो प्रदर्शन गरे ।
चेल्सीले दोस्रो हाफमा पनि आक्रमण जारी राख्यो । ६० औं मिनेटमा १८ वर्षीय मिडफिल्डर क्यालम हड्सन ओडोईले गोल गरे । खेल सकिन १२ मिनेट बाँकी छँदा वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै ४-० को जित पक्का गरे । मोराटाले हड्सन ओडोईको क्रसमा हेडरमार्फत गोल गरेका हुन् ।
चेल्सीले युरोपा लिगको लगातार पाँच खेल जित्दै यस नतिजा हासिल गर्ने दोस्रो इंग्लिस टोली बनेको छ । यसअघि टोटेनहमले पनि सन् २०१३-१४ मा यस सफलता हासिल गरेको थियो । चेल्सीले सन् २०१० नोभेम्बरयता लगातार ५ युरोपेली खेल जितेको हो । सन् २००९-१० मा प्रतियोगिताको नाम युरोपा लिग राखेयता हड्सन ओडोई गोल गर्ने सबैभन्दा युवा खेलाडी भए । उनको उमेर १८ वर्ष २२ दिन रहेको छ ।
अंक तालिकामा चेल्सीको ५ खेलमा १५ अंक छ भने बाटे बोरिसोभ र मोल भिडीको ६-६ अंक छ । पाओकको ५ खेलमा ३ अंक छ । अन्तिम खेलमा चेल्सीले मोल भिडीको सामना गर्नेछ ।
-Nirdesh pokhrel
Post a Comment