काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले बिहिबार डिसेम्बर महिनाको लागि निकालेको नयाँ वरीयतामा नेपाल १ सय ६२ औं स्थानमा रहेको छ । अघिल्लो महिनाको तुलनामा नेपाल एक स्थान तल झरेको हो ।
दक्षिण एसियाली राष्ट्रहरुमा भने नेपाल तेस्रो स्थानमा यथावत छ । वरियतामा दक्षिण एसियाली राष्ट्रहरु भारत र माल्दिभ्स नेपाल भन्दा अघि छन् । भारत ९७औं तथा माल्दिभ्स १ सय ५२औं स्थानमा छ । भारतको वरियता यथास्थानमा रहँदा माल्दिभ्स एक स्थान तल झरेका हो ।
भुटान दुई स्थान माथि उक्लदै १८६ औं स्थानमा आएको छ । दुई स्थान सुधार गरेको बंगलादेश १९२औं स्थानमा आइपुगेको छ । पाकिस्तान १९९औं र श्रीलंका २०१औं स्थानमा यथावत छन् ।
नयाँ वरीयताको शीर्ष पाँचसम्म कुनै परिवर्तन भएको छैन । शीर्षस्थानमा बेल्जियम यथावत छ भने विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इंग्ल्यान्ड पाँचौ स्थानमा छन् । पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लँदा उरुग्वे एक स्थान तल झरेको छ । स्वीट्जरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा यथावतै छन् ।
अर्जेन्टिनाले एक स्थान सुधार गर्दै ११औं स्थानमा उक्लँदा कोलम्विया १२औं स्थानमा धकेलिएको छ । जर्मनी भने खराब प्रदर्शनका कारण दुई स्थान तल झर्दै १६औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रमध्ये इरान एक स्थान माथि चढ्दै २९ औं स्थानमा छ भने अष्ट्रेलियाले पनि एक स्थान सुधार्दै ४१ मा पुगेको छ ।
सुडानले सर्वाधिक ठूलो छलाङ मार्दै ८ स्थान माथि १ सय २७ तथा मोरोक्को ७ स्थान माथि ४० औं स्थानमा आइपुगेको छ । फिफा विश्वकप आयोजक राष्ट्र रुस ७ स्थान तल झर्दै ४८ औं स्थानमा आइपुगेको छ ।
-Nirdesh pokhrel
Post a Comment