काठमाडौं। अपहरण पछि हत्या गरेर खोलामा फालिएका ८ वर्षीय बालक प्रयास कुँवरको शवको अनुसन्धान भैरहेको छ। जसले प्रयासको अपहरण गरेर हत्या गर्यो उनैले प्रहरीलाई शव फालेको स्थानसम्म पुर्याएका थिए। फोहरले भरिएको खोलामा शव पोको पारेर माथिबाट फालिएको थियो। तल पानी र माथि फोहरको सतह भएका कारण शव पोको पारेर माथिबाट फालिएको झोला फुटेको थिएन। प्रहरीले झोलाको चेन खोलेर हेर्दा भित्र अर्को एउटा झोला थिए, त्यहाँ प्रयासको शव थियो।
प्रयासका जुत्ता चप्पल थिएनन्, मोजा भने लगाएकै अवस्थामा थिए। उनले लगाएको न्यानो ट्राउजरको खल्तीमा चकलेट थियो।
घटनास्थलमा खटिएका डीएसपी रूगम कुँवरले शवको प्रारम्भिक परीक्षण गर्दा कुनै बाहिरी चोटपटक नदेखिएको जानकारी दिए। तर अनुसन्धान पछि मात्रै कसरी हत्या गरिएको थियो भन्ने थाहा लाग्ने बताउँदै उनले कसरी हत्या गरियो भन्ने यकिन नभएको बताए।
‘एकजनालाई पक्राउ गरेका छौँ, उनले हत्या गरेको स्वीकार गरेका छन्,’ डीएसपी कुँवरले डिसी नेपालसँग भने –‘अभियुक्तलाई हिरासतमा लिएर थप अनुसन्धान भैरहेको छ।’ प्रारम्भिक अनुसन्धानमा हत्यामा एकजनाको मात्रै संलग्नता देखिएको उनको भनाइ छ।
को हुन् अभियुक्त?
मङ्गलबार गोङ्गबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका ७ वर्षीय छोरा प्रयास बेपत्ता भएपछि उनको खोजी चलिरहेको थियो। पहिले परिवारले खोज्यो, नभेटेपछि उजुरी प्रहरीमा पुग्यो। प्रहरीले अनुसन्धान गर्दा शङ्का लाग्यो गेस्ट हाउसकै सवारी चालक स्याङ्जा भीरकोट नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय महेन्द्र सार्की (एसके) लाई नियन्त्रणमा लिएको हो।
प्रहरीले महेन्द्रलाई बिहीबार दिउसो नियन्त्रणमा लियो। केरकार गर्दा उनले हत्या गरेको स्वीकारे र प्रहरी टोलीलाई शव फालेको स्थान सम्म लगेर शवको पोको देखाइदिए।
प्रहरीलाई दिएको बयान अनुसार उनले जङ्गलमा लगेर हत्या गरी शव गाडीमा ल्याएर खोलामा फालेका थिए। शव पोको पार्न उनले पसलमा दुईवटा जेब्रा ब्याग किनेको बयान दिएका छन्। होटलमा पुगेर उनले कुँवर परिवारसँगै बालकलाई खोज्ने नाटक पनि गरेका थिए।
गेस्ट हाउसमा महेन्द्र २ महिना देखि सवारी चालकको रूपमा काम गर्दै आएका थिए।
प्रयासको हत्या गर्ने महेन्द्र स्वयंले शव फालेको ठाउँसम्म प्रहरीलाई पुर्याए। माथि सडकबाट गाडी भित्रको शवको पोको झिकेर खोलामा फालेका उनैले शवको पोको यही हो भनेर देखाएपछि प्रहरीले भर्याङ लगाएर खोलामा झरेर शव निकालेको थियो।
हेर्नुस् घटनास्थल पुगेर तयार पारिएको यो भिडियो रिपोर्टः
-By Nirdesh pokhrel
Post a Comment