काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रन्जन विष्टले पूर्व क्लब एपीएफविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार २-० को जित दर्ता गरेको छ । थ्री स्टारको जितमा रन्जनले दुवै हाफमा १-१ गोल गरे ।
रुस्लान थ्री स्टारका लागि रन्जनले २५ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । सुनील बलले दायाँ विङसबाट दिएको लो क्रसलाई उनले फस्ट टचमै गोलमा परिणत गरे । त्यसअघि थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । रुपेश केसीले पेनाल्टी क्षेत्र बाहिरबाट १९ औं मिनेटमा गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।
एपीएफले पनि पहिलो हाफको अन्त्यतिर खेल बराबरी गर्ने अवसर पायो । सन्तोष श्रेष्ठले ४१ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा पाएको अवसर सदुपयोग गर्न सकेनन् । युवराज खड्काले बक्सभित्रबाट दिएको लो क्रसमा पिटर बिट भएपनि सन्तोषको प्रहार आकासिएको थियो । पहिलो हाफमा थ्री स्टार १-० ले अगाडी रहेको थियो ।
दोस्रो हाफको मध्यतिर थ्री स्टारले अग्रता दोब्बर पार्यो । ६६ औं मिनेटमा गोलरक्षक एलन न्यौपानेको गोलकिकमा अनिल गुरुङले पेनाल्टी क्षेत्र बाहिर फ्लिक हेडर गरेपछि रन्जनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सलाई बिट गर्दै गोल गरे । त्यसको पाँच मिनेटअघि सुनील बलको कर्नरमा निराजन खड्काको नियर पोस्ट हेडरलाई विश्वास उदासले गोललाइनबाट क्लियर गरेका थिए ।
थ्री स्टारले यस जितसँगै शीर्षस्थानको मनाङसँग अंक बराबरी गरेको छ । थ्री स्टारले ५ खेलमा ४ जित र १ हार बेहोर्दै १२ अंक जोडेको छ । एपीएफ भने लगातार पराजित हुँदै ४ अंकमा अड्किएको छ । एपीएफले लिगको पाँच चरणको खेल सकिँदा १ खेल मात्र जितेको छ ।
-Nirdesh pokhrel
Post a Comment