१३ मंसिर,बुटवल । नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई राजनीतिक सहमतिमा मात्र जग्गा दिन माग गरेको छ ।
कांग्रेस नगर समितिले नगरपालिकाले स्वेच्छाचारी ढंगले दुरगामी महत्वका विषयमा निर्णयहरु गरेको भन्दै बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा नगरपालिकाले राजनीतिक सहमति नगरी हचुवाको भरमा मुटु अस्पताललाई निशर्त करिब एक अर्ब मूल्य पर्ने वडा नंं ४ को १० बिघा जग्गा दिने निर्णय गरेकामा आपत्ति जनाउंदै अस्पतालको गुरुयोजना अनुसार ४ बिघा मात्र दिन माग गरेको छ ।
साथै अस्पतालको गुरुयोजना हुनुपर्ने,अस्पतालमा नगरबासीलाई रोजगारी तथा स्वास्थ्य उपचारमा नगरवासीले पाउने छुट र सहुलियत,अस्पताल सञ्चालनमा नगरपालिकाको भूमिकाबारे स्पष्ट र सुनिश्चित हुनुपर्ने, जग्गा कति वर्षका लागि लिजमा दिने भन्नेबारे अस्पताल र नगरपालिकाबीच सम्झौता हुनुपर्ने माग पनि कांग्रेस नगर समितिले गरेको छ ।
यस्तै वडा नंं ७ मा रहेको पशु सेवा कार्यालय भवन र त्यसमा रहेका उपकरणहरु डोजर लगाएर भत्काएर व्यक्तिलाई घर बनाउन दिइएकोमा पनि कांग्रेसले आपत्ति जनाउंदै सरकारी जग्गा हिनामिना गर्ने माथि कारवाही गर्न पनि माग गरेको छ । नगरपालिकाले चर्को घर जग्गा कर लगाएको आरेप लगाउंदै कर घटाउन पनि कांग्रेसले माग गरेको छ ।
नगरपालिकाको नेतृत्वमा रहेका पदाधिकारीले आफ्नो दलका कार्यकर्ता पोस्नेगरी वातावरणीय प्रभाव मूल्यांकन नै नगरी नदीजन्य पदार्थ दोहन र उत्खनन् गर्न दिएको र सडक ग्राभेलमा राख्नुपर्ने नदीजन्य पदार्थ कार्यकर्ताको घरघरमा जम्मा हुने गरेको आरोप समेत कांग्रेसले लगाएको छ । नगर सभापति हरिलाल पाण्डेले नगरभित्रका सडक सबै कालोपत्रे गर्न पनि माग गरेका छन् ।
By Nirdesh pokharel
Post a Comment