काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) लाई ३-० ले पराजित गरेको छ । पुलिसको लगातार जितमा निरकुमार राईले दुई गोल गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसले सुरुवाती समयमै अग्रता लिने अवसर चुकायो । भोला सिलवालको क्रसमा अभिषेक रिजालले खेलको सुरुवाती समयमा हेडरमार्फत गोल गर्न सकेनन् । त्यसपछि एनआरटीले पनि केहि समय पुलिसलाई दबाब दिएको थियो । १६ औं मिनेटमा बालगोपाल साहुखलको प्रहार गोलरक्षक सत्रुघन चौधरीले सहजै रोके ।
पुलिसका लागि वैकल्पिक खेलाडी निरकुमार राईले ४० औं मिनेटमा हेडरमार्फत गोल गरे । अजित भण्डारीले बायाँ विङसबाट गरेको क्रसमा उनले हेडरमार्फत गोल गरेका थिए । उनी मिडफिल्डर दिनेश गुरुङको स्थानमा ३२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
दोस्रो हाफमा पुलिसले आक्रमण जारी राख्यो । पुलिसका लागि ६६ औं मिनेटमा अभिषेक रिजालले अग्रता दोब्बर पारे । रवी पासवानको लामो पासलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरे । ७४ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्ने सुन्दर अवसर खेर फाले । पेनाल्टी क्षेत्रभित्र रेजिन सुब्बाले उपलब्ध गराएको पासमा गोलरक्षक मात्र बिट गर्न बाँकी अवस्थामा अनमार्क रहेका तेजको प्रहारले पोस्टको दिशा लिन सकेन ।
एनआरटीले ८१ औं मिनेटमा खेलमा फर्कने अवसर चुकायो । राजेश परियारले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । त्यसको एक मिनेटमै पुलिसले अग्रता बढायो । अभिषेक रिजालको उत्कृष्ट थ्रु बलमा निरकुमार राईले वन भर्सेस वनमा गोल गर्दै पुलिसलाई ३-० ले अगाडी बढाए ।
लगत्तै निरकुमारले ह्याट्रिक गर्ने दुई अवसर पनि पाएका थिए । ८६ औं मिनेटमा रवी पासवानको पासमा उनको प्रहारलाई गोलरक्षक सोजित गुरुङले सहजै बचाए । त्यसको एक मिनेटमै भोला सिलवालको चिप पासमा निरकुमारले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई पनि छलाईसकेको अवस्थामा सट प्रहार गर्न ढिलो गर्दा गोलरक्षकले बल खोसेपछि ह्याट्रिक गर्नबाट चुके । इन्ज्युरी समयको दोस्रो मिनेटमा रवीको क्रसमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन ।
यस जितसँगै पुलिसले ५ खेलमा ३ जित, १ बराबरी र १ हारसँगै १० अंक बनाएको छ । पुलिस केहि समयको लागि भएपनि शीर्ष ४ मा उक्लिएको छ । यता एनआरटी लगातार चौथो हारसँगै अंक तालिकाको पुछारमा नै अड्केको छ ।
खेलको भिडियो हेर्न यहाँ थिच्नुहोस्
खेलको तस्बिरहरु :
-Nirdesh pokhrel
Post a Comment