काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषले सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कोषले महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आफ्ना हिताधिकारीका सन्ततिहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यो योजना अघि सारेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले कल्याणकारीलाई सबै तह लाभान्वित हुने गरी परिचालन गर्ने बताउंदै आएका थिए । प्रधानसेनापति थापाले नै यो योजना अघि बढाएका हुन् ।
उनी प्रधानसेनापतिमा नियुक्ती भएसंगै कल्याणकारीलाई पारदर्शी बनाउंदै लगेका छन् ।प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले स्वदेश वा विदेशमा चिकित्साशास्त्र,
ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि तथा पशु विज्ञान र वन विज्ञान संकायमा स्नातक तह वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि वार्षिक ५ प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा अधिकतम पच्चीस लाखसम्मको ’सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५’ अनुसार ऋण उपलब्ध गराउन प्रभु बैंक लिमिटेडसंग कोषको सहमति भएको छ ।
प्रतिष्पर्धाको आधारमा छनौट गरिएको प्रभु बैंक लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउन लागिएको शैक्षिक कर्जामा पांच लाखसम्म सम्बन्धित अभिभावकको व्यक्तिगत धन जमानी र सो रकम भन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
सेनाको सैनिक जनसम्र्पक निर्देशनालयले सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ फाल्गुण २० गतेदेखि कार्यान्वयनमा आउने जनाएको छ ।
-By Nirdesh pokhrel
Post a Comment