पोखरा । त्रिभुवन आर्मीलाई सडन डेथमा पराजित गर्दै थ्रीस्टार क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार भएको उपाधि भिडन्तले थ्रीस्टारले आर्मीलाई सडन डेथमा ५-४ ले हराएको हो । टाइब्रेकरमा ४-४ गोल भएपछि सडन डेथबाट खेलको निर्णय लिइएको थियो, जसमा आर्मीका विकास खवासके प्रहार थ्रीस्टारका एलन न्यौपानेले रोके भने थ्रीस्टारका मिक्सन तामाङले गोल गर्दै टीमलाई उपाधि दिलाए ।
पोखरा रंगशालामा भएको खेलमा आर्मीले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेको थिएन । उसले पाँचौं मिनेटमा नै टेकबहादुर बुढाथोकीको गोलबाट अग्रता लिएको थियो तर, पहिलो हाफको इन्जुरी टाइममा रजिन धिमालले बराबरी गोल गरे ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको सुरुमा नै सुनिल बलले रातो कार्ड पाएपछि थ्रीस्टार १० खेलाडीमा सिमित भयो ।
त्यसको फाइदा उठाउँदै खेलमा आर्मीले अग्रता लियो । १०५ औं मिनेटमा विमल पाण्डेले गोल गरे । तर ११२ औं मिनेटमा पिटर सेगुनले थ्रीस्टारका लागि बराबरी गोल फर्काएका थिए ।
Post a Comment