काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै भारत र पाकिस्तानबाट ‘आकर्षक खबर’ आफूले पाएको बताए। उनले दुई देशबीचको तनाव चाँडै समाधान हुन गइरहेको भविष्यवाणी पनि गरेका छन् ।के ट्रम्पले भनेजस्तै दुई देश समाधानउन्मुख भएका हुन् त ?
यसको ठोस जवाफ नमिले पनि भारतीय पक्ष बुधबारको तुलनामा विहीबार केही शान्त देखिएको छ । बालाकोट आक्रमणको भोलिपल्टै पाकिस्तानले दुईवटा लडाकू विमान खसाएर जवाफी आक्रमण गरेपछि भारत थप उत्तेजित हुने विश्लेषण गर्न थालिएको थियो । तर, भारतले अहिलेसम्म अर्को कुनै कदम चालेको छैन । भारतीय मिडियाहरुको उग्रता पनि बिहीबार केही मथ्थर भएको छ ।
तर, पाकिस्तानसँग कुरा मिल्न लागेर भारत यो अवस्थामा आएको भने होइन । भारतीय पक्ष केही नरम देखिनुको एउटा कारण हो आफ्नो पाइलट पाकिस्तानले कब्जामा लिनु । दुई लडाकु विमान खसाएर पाकिस्तानले पाइलटलाई कब्जामा लिएपछि भारत पछि सरेको हुन सक्छ ।
आफ्नो पाइलट पाकिस्तानी नियन्त्रणमा रहेको कुरा भारत सरकार वा सेनाले प्रष्ट शब्दमा भनेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ‘आफ्ना एक पाइलट बेपत्ता बनेको’ मात्र बताएका छन् । तर, भारतले आफ्नो पाइलटलाई पाकिस्तानको कब्जाबाट झिक्न भित्रभित्रै प्रयास गरिरहेको समाचार स्रोतहरुको भनाइ छ । यतिबेला भारतको सबैभन्दा ठूलो प्राथमिकता भनेकै पाइलटको रिहाइ बन्न पुगेको छ ।
आफ्नो पाइलट फिर्ता नपाउञ्जेल भारतलाई पाकिस्तानविरुद्ध कुनै कडा कदम चाल्न कठिन छ । त्यसैले पनि हिजोको घटनापछि भारत सरकार र मिडियाको बोलीको टोन केही फेरिएको देखिन्छ ।
इन्डियन एक्सप्रेसका अनुसार नयाँ दिल्लीले आफ्ना पाइलटलाई कुनै हानी नपुर्याउन पाकिस्तानी सरकारसँग कुटनीतिक च्यानलमार्फत आग्रह गरिरहेको छ । र, पाकिस्तानी सेनाले पनि उनीमाथि मानवीय व्यवहार गरिने बचन दिएको समाचारमा उल्लेख छ । तर, यसैबाट भारत विश्वस्त हुन भने सक्दैन ।
पाइलट अभिनन्दन पाकिस्तानी कब्जामा पुगेलगत्तै उनका केही भिडियोहरु सार्वजनिक भइरहेका छन् । पहिलो भिडियोमा उनी चोटग्रस्त देखिएका छन् र उनलाई केही मानिसहरुले पिटिरहेका छन् । दोस्रो भिडियोमा उनका आँखामा पट्टी बाँधिएको छ । त्यसमा अभिनन्दनले आफ्नो परिचय खुलाएका छन् ।
सार्वजनिक भएको तेस्रो भिडियोमा भने अभिनन्दन बिन्दास देखिएका छन् । उनी निर्धक्कसँग चिया पिउँदै कसैले सोधेको प्रश्नको जवाफ दिइरहेका देखिन्छन् । जवाफ दिने क्रममा उनले पाकिस्तानी सेनाको निकै प्रशंसा गरेका छन् ।
‘पाकिस्तानी सेनामा एकदम राम्रा मान्छेहरु रहेछन् र उनीहरुले निकै राम्रो व्यवहार गरेका छन् । म चाहन्छु कि भारतीय सेना पनि यस्तै होस,’ उनले भनेका छन् । यद्यपि, उनले यो कुरा आफ्नै मनले भनेका हुन् वा भन्न लगाइएको हो भन्ने चाहिँ प्रष्ट छैन ।
जेनेभा महासन्धीले कुनै पनि युद्धबन्दीमाथि मानवीय व्यवहार हुनुपर्ने र कुनै शारीरिक चोट पुर्याउन नपाइने उल्लेख छ ।
पाकिस्तानी पक्षले भारतीय पाइलटलाई फिर्ता दिने विषयमा अहिलेसम्म केही पनि बोलेको छैन । तर, अन्तर्राष्ट्रिय समुदायसामु आफ्नो प्रतिष्ठा बढाउनका लागि प्रधानमन्त्री इमरान खानले आफ्नो पाइलट फिर्ता दिने भारतीय अधिकारीले आशा गरेका छन् । यदि त्यसो भएको खण्डमा दुई देशबीचको तनाव कम गर्न निकै मद्दत मिल्ने तटस्थ विश्लेषकहरुले पनि ठानेका छन् ।
यसअघि सन् १९९९ मा पनि पाकिस्तानी सेनाले भारतीय वायू सेनाका पाइलट के नचिकेतालाई कब्जामा लिएको थियो । त्यतिबेला उनलाई ८ दिनपछि भारतीय अधिकारीको जिम्मा लगाइएको थियो ।
भारत सरकारले आफ्ना पाइलटको यथासक्य चाँडो रिहाइका लागि आफ्ना कुटनीतिज्ञहरुलाई सक्रिय रुपमा परिचालित गरिहेको छ । आफ्ना पाइलटको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले बोलिदिए हुन्थ्यो भन्ने भारतले चाहेको छ । तर, अहिलेसम्म यस विषयमा कुनै पनि देशले मुख खोलेका छैनन् ।
बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसैको पक्ष नलिइकन भारत-पाक तनाव चाँडै हल हुने आशा मात्रै व्यक्त गरे । जब कि ट्रम्पले आफ्नो समर्थनमा बोल्ने भारतले आशा राखेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार दिएको अभिव्यक्ति तुलनात्मकरुपमा नरम छ । उनले पाकिस्तानलाई कुनै चेतावनी नदिइकन केवल आफ्नो सेनाको प्रशंसा गरेका छन् ।
मोदीले भनेका छन्, ‘हाम्रो देशलाई अस्थिर बनाउने कोशिष भइहेको छ । तर, हामी रोकिने छैनौं । बरु अझै तीव्र गतिमा अगाडि बढ्नेछौं । यतिबेला देशको सेनाले सीमामा पराक्रम देखाइरहेको छ । पूरा देश एक छ र हामीलाई आफ्नो सेनामा भरोसा छ । यस्तो केही पनि गरिने छैन, जसले सेनाको मनोबल घटोस् । हामीले यो बताउनुपर्छ कि देश कुनै पनि मूल्यमा रोकिँदैन ।’
कसरी कब्जामा परे भारतीय पाइलट ?
भारतीय पाइलट पाकिस्तानी कब्जामा कसरी पुगे भन्ने विषयलाई भारतीय मिडियाहरुले खासै चर्चा गरेका छैनन् । पाइलट बेपत्ता भएको सरकारी भनाइलाई मात्रै उनीहरुले प्रशारण गरिरहेका छन् । बीबीसीले भने भारतीय बिमानलाई खसाएर पाइलटलाई कब्जामा लिएको उल्लेख गरेको छ ।
बीबीसीको समाचारमा लेखिएको छ, ‘अभिनन्दन भारतीय वायु सेनामा विङ कमान्डर हुन् । उनी बुधबार मिग २१ लिएर उडेका थिए । तर, पाकिस्तानी एयरफोर्सले त्यसलाई खसायो र उनलाई नियन्त्रणमा लियो ।’
अन्तर्राष्ट्रिय न्यूज एजेन्सी रोयटर्सले बालाकोट हमलाको भोलिपल्ट बुधबार पाकिस्तानको विमानले भारतीय हवाइ सीमामा प्रवेश गरेको जनाएका छन् । पाकिस्तानी विमान जम्मू कश्मिरको रजौरी जिल्लाको नौसेरा सेक्टरमा पसेको समाचारमा उल्लेख छ ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिफ जाफुरले भारतीय पाइलट कसरी आफूहरुको कब्जामा आए भन्ने विस्तृत विवरण दिएका छन् । उनले पत्रकार सम्मेलनमा यस्तो भनेका थिए :
‘भारतीय वायू सेनाले सीमारेखा नाघेर हाम्रो भूमिमा बम खसाएपछि पाकिस्तानी सेनासँग त्यसको जवाफ दिनुको विकल्प भएन । तर, हामी भारतको शैलीमा नभएर जिम्मेवार तरिकाले जवाफ दिन चाहन्थ्यौं ।
आज (बुधबार) बिहान पाकिस्तानी एयरफोर्सले निर्णय गर्यो कि उनीहरुले कुनै सैन्य टार्गेट लिने छैनन् । साथै यसमा कुनै जनधनको क्षति हुनु हुँदैन । हाम्रो सेनाले आफ्नो हदभित्र रहेर टार्गेट लक गर्यो र थोरै दुरीमा खुल्ला स्थानमा हमला गर्यो । भिम्बर गली, केजी टप र नारियनजस्ता इलाकामा भारतीय सेनाको सप्लाई डिपोमा हामीले हमला लक गर्यौं । तर, हामीले जिम्मेवारीको प्रमाण दिँदै त्यसको केही दुरी पर हमला गर्यौं ।
पाकिस्तानी सेनाको हमलापछि भारतीय एयरफोर्सका दुई लडाकू विमान सीमा नजिक आएका थिए र तिनीहरुलाई पाकिस्तानी वायूसेनाले मुकाबिला गरेर खसाइदियो । दुईमध्ये एक विमान हाम्रो सीमाभित्र खस्यो र अर्को भारतीय सिमा नजिक खस्यो । तर, भारतमा एउटा अर्को भारतीय विमान खसेको खबर छ, त्यसमा पाकिस्तानको कुनै हात छैन ।
खसेको विमानमा रहेका दुई पाइलटलाई हामीले नियन्त्रणमा लियौं । उनीहरुमध्ये एकजना घाइते थिए । उनलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । अर्का चाहिँ हाम्रो हिरासतमा छन् ।’
(एजेन्सीको सहयोगमा)
-By Nirdesh pokhrel
Post a Comment