पोखरा (हाम्रो खेलकुद) – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार पराजित भएको विभागीय नेपाल पुलिस क्लबले मंगलबार आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फुटबल फ्यामिली क्यामरुनको टोलीसँग फेरि हार बेहोरेको छ । पुलिसले तिलोत्तमा गोल्डकपको फाइनलमा दाफिन्ससँग सडनडेथमा हारेको थियो ।
पोखरा रंगशालमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिस अतिरिक्त समयमा दाफिन्ससँग २–१ ले पराजित भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा यान्निकले गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए ।
त्यसअघि खेलको ३७औं मिनेटमा बिजिक बिजिकको गोलबाट दाफिन्सले खेलमा अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई पुलिसका गोलरक्षक अघि बढेर रोक्ने प्रयास गरेपनि असफल हुदा बिजिकले बक्सभित्रबाट गरेको हाफ भली प्रहार सिधै गोलमा परिणत भएको थियो ।
खेल सकिनै लाग्दा सुमन लामाको क्रसमा सुमन सुवेदीले हेड गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए । तर, पुलिसले दाफिन्सलाई अतिरिक्त समयमा रोक्न सकेन । खेलको अन्तिम समयमा पुलिस १० खेलाडीमा समेटिएको थियो । पुलिसका हरि कठायत रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेल हुनेछ । पहिलो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । दोस्रो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब र दाफिन्सबीच खेल हुनेछ ।
Post a Comment