१४ फागुन, काठमाडौँ, । फरक फरक अस्तित्वमा रहेका दुई नेपाल कराते महासंघको विवाद अन्त्य हुने संकेत देखिएको छ । लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई महासंघबीच निर्वाचनबाट एक हुने सहमतिमा पुगेका छन् ।
युवा तथा खेलकूद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराते संघलाई नयाँ निर्वाचनबाट एक हुदै विवाद समाधान गर्न सहमत गराएको हो । राष्ट्रिय मान्यता प्राप्त कराते महासंघको अध्यक्षमा दावा गुरुङ छ भने पुरेन्ऽविक्रम लाखेको नेतृत्वमा रहेको सहासंघलाई अन्तर्राष्ट्रिय मान्यता छ ।
अध्यक्ष गुरुङले कराते खेलको विकासका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । उनले भने, ‘लामो छलफलपछि हामी एउटै महासंघ बनाउन समहत भएका छौँ । बुधबार तदर्थ कमिटी सार्वजनिक गर्नेछौं ।’
यता, अर्का अध्यक्ष लाखेले पदकको सम्भावना रहेको कराते खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताको दाबी गरेर खेलाडीको भविष्य अन्धकार नबनाउन समयमै सचेतना अपनाएर दूरदर्शी निर्णय गर्दै एउटै महासंघ बनाउन सहमत भएको बताए ।
सहमतिअनुसार तीन महीनाभित्र नयाँ निर्वाचन गर्ने कार्यादेशसहित शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ । समितिको सहसंयोजकमा दावा लामा, उपाध्यक्षमा पुरेन्ऽविक्रम लाखे, महासचिवमा हरिचरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा बीआर मित्र र श्याम शेर्पा, कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।
सन् २०११ मा तत्कालीन राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्यसचिव युवराज लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता प्राप्त नेपाल कराते महासंघ अस्तित्वमा हुँदाहुँदै दावा गुरुङको अध्यक्षतामा नेपाल कराँते महासंघको पुनरगठन गरेका थिए ।
दुई वटा कराँते महासंघ अस्तित्वमा रहँदा नेपाली कराते खेलाडी भने निकै मारमा परेका थिए भने नेपालको प्रदर्शन निरन्तर ओरोलो लागिरहेको छ ।
२०५६ सालमा नेपालमा सम्पन्न आठौँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेले १४ स्वर्ण पदक जितेको थियो ।
संघको विवादका कारण खेलक्षेत्रमा नतिजा निकाल्न नसकेको निष्कर्षसहित युवा तथा खेलकूद मन्त्रालयले विवाद समाधानका लागि गत मंसिर १७ गते राष्ट्रि्रय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
विवाद समाधान समितिले गत साता मात्र मोर्डन पेन्टाथलन संघको विवाद समाधान गरेको थियो । समितिले गत माघ ९ गते नेपाल जिम्न्यास्टिक संघको पुनरगठन गरेको थियो । संघको विवादका कारण महत्वपूर्ण खेलका गतिविधि अघि बढ्न सकेका छैनन् । उसु र तेक्वान्दो जस्ता खेलको विवाद अझै समाधान हुन सकेको छैन ।
समितिले विवादित संघहरुसँग पनि निरन्तर छलफल गरिरहेको विवाद समाधान समितिका सदस्य तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले बताए । उनले भने, ‘उहाँहरूसँग भएको छलफल सकारात्मक रूपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफल गर्दै विवाद समाधान गर्छौं ।’
Post a Comment