काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्ति स्थापनाको उद्देश्यसहित आफुहरुले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनदन वर्तमानलाई भोलि शुक्रबार रिहा गर्ने घोषणा गरेका छन् ।
उनले पाकिस्तानी संसदको संयुक्त सत्रमा यो घोषणा गरेका हुन् । उनले शान्ति स्थापनाका लागि आफैंले एक कदम अगाडि बढाउन चाहेको भन्दै यो कदम उठाएर शान्तिका लागि पहल गर्न चाहेको बताएका छन् ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने ‘हामीले भारतलाई पत्र लेख्यौं कि विदेश मन्त्रीहरुले भेटेर यस विषयमा निकास खोज्नुपर्छ तर हामीले सन्तोषजनक जवाफ पाएनौं ।
हामीलाई लाग्यो यसको जवाफ यसकारण आएन किनकि भारतमा चुनाव छ । उनीहरुको चुनावी एजेण्डामा हामीसँग सम्बन्ध राम्रो होस् भन्ने छँदै छैन ।’
उनले अगाडि भने ‘हामीलाई डर थियो चुनावलाई ध्यानमा राख्दै केही न केही हुन्छ जसलाई भारतले चुनावको लागि प्रयोग गर्छ । म यो भन्दिन कि पुलावामामा भारतको हात थियो तर आक्रमणको आधा घण्टाभित्रै हामीमाथि बिना आधार आरोप लगाइयो ।’
यसबाट पाकिस्तानलाई केही फाइदा नहुने प्रस्ट पार्दै प्रधानमन्त्री खानले भारतलाई जाँचमा सहयोग गर्न भनेको स्मरण गरे । उनले आफ्नो भूमिमा आतंकवादलाई अनुमति नदिने बताए ।
उनले पाकिस्तानी मिडियालाई उनीहरुको महत्वपूर्ण भूमिका भएको स्मरण गराउँदै भने ‘भारतीय मिडियाले निकै केटाकेटी पारा देखाए । उनीहरुलाई युद्धको नोक्सान थाहा छैन । हाम्रो मिडियाले आतंकका कारण ७० हजार नागरिकको मृत्यु भएको देखेका छन् ।’
प्रधानमन्त्री खानले भारतले आज यस विषयमा कागजात पठाएको बताउँदै उनीहरुले कागजपत्र पठाउनुभन्दा पहिले आक्रमण गरेको बताए । भारतले चुनावको फाइदा हेर्दै यस्तो गरेको बताए ।
उनले भारतले आक्रमण गरेको बिहान थाहा पाएको बताउँदै आक्रमणमा कोही हताहत नभएको भए हामीले पनि कसैलाई हताहत गर्न हुँदैन भनेर चुप बसेको बताए ।
उनले आफूले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको तर मोदीले कुरा गर्न नचाहेको स्पष्ट पारे । भिडियोमा हेर्नुहोस् संसदमा प्रधानमन्त्री खानको घोषणा –
-By Nirdesh pokhrel
Post a Comment