काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी निरीक्षक एलिजा गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाली सेना र प्रहरीको जागिर छाडेर अपराधमा संलग्न एउटा गिरोह पक्राउ गरेको छ।
कमाल
रोचक त के छ भने आपराधिक गिरोहमा प्रहरी र सेनाको जागिर छाडेका मात्रै छैनन्, गुण्डा नाइके कुमार घैंटेको ग्याङमा संलग्न सदस्य पनि छन्।
शनिबार इन्सपेक्टर गिरीको कमाण्डमा खटिएको प्रहरीले नेपाल प्रहरी र नेपाली सेनाको जागिर छोडी अपराधमा संलग्न सहित ३ जना पक्राउ गरेको हो।
केदारप्रसाद अधिकारी, अर्जुन प्रसाद अधिकारी र अन्जन उप्रेती पक्राउ परेका हुन्। यीमध्ये केदारप्रसाद अधिकारी पहिले प्रहरी थिए। प्रहरीको जागिर छाडेर उनी सेनामा भर्ती भएका थिए। पछि सेना पनि छाडेर अपराधी बनेका प्रहरी रेकर्डमा छ।
केदारप्रसाद अधिकारी धादिङ जिल्ला गल्छी घर भइ हाल काठमाडौं कलंकीमा बस्दै आएका थिए। उनले नेपाल प्रहरीमा २ वर्ष जागिर खाई भागेर पुनः नेपाली सेनामा भर्ती भएर तीन वर्ष जागिर खाएर त्यहाँबाट पनि भागेका थिए।
उनीसँगै पक्राउ परेका धादिङ गल्छी घर भई हाल कलंकी काठमाडौं बस्ने अर्जुन प्रसाद अधिकारी दुईपटक सार्वजनिक अपराधमा सजाय पाइसकेका पटके अभियुक्त हुन्।
उनीहरुसँगै काभ्रे जिल्ला भुम्जु गाउपालिका ८ घर भई हाल चावहिल बस्ने अन्जन उप्रेती पनि पक्राउ परेका छन्। उप्रेती गुण्डा नाईके कुमार घैंटेको ग्याङमा काम गरेका पेशेवर रहेको प्रहरी रेकर्डले देखाउँछ।
तीनै जना अपराधीहरुलाई शनिबार साँझ साढे सातबजे जडिबुटी स्थित गणेशमाया श्रेष्ठको घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
ती व्यक्तिहरु हातहतियार सहित लुटपाट गर्ने उद्देश्यले घरमा प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
प्रहरी प्रभाग कोटेश्वर प्रमुख एलिजा गिरीको नेतृत्वमा खटिएको टोलीले ठूलो चाइनिज पेस्तोल १ थान, १ राउन्ड गोली र खुकुरी एक थान सहित पक्राउ गरेको थियो। एलिजा गिरी नेपाल प्रहरीमा चर्चामा छन्। उनी पहिले मोडलिङ क्षेत्रमा थिइन्।
यो भिडियो रिपोर्ट हेर्नुस्ः
-By Nirdesh pokhrel
Post a Comment