मिलानो (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले एसपालमाथि संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा मिलानले १ गोलले पछि परेको स्थिति उल्ट्याएर एसपालमाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।
मिलानको जितमा स्यामुयल क्यास्टेलेजो र गोन्जलो हिग्विनले गोल गरे । एसपालका एन्ड्रिय पेटाग्नाले एक गोल गरे । एसपालले खेलको १३औं मिनेटमा एन्ड्रिय पेटाग्नाको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले थियागो सियोनेकको पासलाई गोलमा परिणत गरेका थिए ।
एक गोलले पछि परेपछि घरेलु टोलीले लगत्तै गोल फर्काउन सफल भयो । १६औं मिनेटमा स्यामुयलले बराबरी गोल फर्काएपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।
६४औं मिनेटमा गोन्जलो हिग्विनले गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान २–१ ले विजयी हुन सफल भयो । खेलको अन्तिम समयमा घरेलु टोली मिलान १० खेलाडीमा समेटिएको थियो । मिलानका सुसो दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।
जितपछि मिलान १९ खेलबाट ३१ अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित एसपाल १७ अंकसहति १६ औं स्थानमा छ ।
Post a Comment