वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर वल्भ्ससँग स्तब्ध भएको छ । टोटेनहम आफ्नै मैदानमा वल्भ्ससँग ३–१ ले स्तब्ध बनेको हो ।
वल्भ्ससँग स्तब्ध भएसँगै टोटेनहमको लिग जित्ने यात्रामा धक्का लागेको छ । हारपछि टोटेनहम ४५ अंकसहित दोस्रो स्थानमा यथावत रहँदा शीर्षस्थानको लिभरपुलसँग ९ अंकले पछि परेको छ । वल्भ्स २९ अंक जोडेर लिगको सातौ स्थानमा उक्लिएको छ ।
यो सिजन जाइन्ट किलर बनेको वल्भ्सले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । लिग च्याम्पियन म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र आर्सनलजस्ता बलियो टोलीलाई १–१ गोलको बराबरीमा रोकेको वल्भ्सले लिगमै चेल्सीलाई २–१ स्तब्ध बनाएको थियो । उच्च प्रदर्शन गरेको वल्भ्स २० खेलबाट ८ जित, ५ बराबरी ७ खेलमा हारको नतिजा निकालेको छ ।
वल्भ्सले यही प्रदर्शनलाई टोटेनहमविरुद्धको खेलमा निरन्तरता दियो । वेम्वली स्टेडियममा ह्यारी केनको गोल मद्दतमा घरेलु टोलीले खेलको २२औं मिनेटमा अग्रता बनाएको थियो । उनले ह्युङ मिन सनको सहायतामा गोल गरेका थिए ।
पहिलो हाफमा १–० ले अघि रहेको घरेलु टोली दोस्रो हाफमा वल्भ्ससामु निरिह देखिदा वल्भ्सले उत्कृष्ट प्रर्दशन गर्दै ३ गोल गर्न सफल भयो । खेलको ७२औं मिनेटमा विली वोलीले जोओ मौटिन्होको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८३औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै वल्भ्सलाई २–१ को अग्रता दिलाए ।
उनले इभान काभालेरोको पासलाई सदुपयोग गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा हेल्डर कोस्टाले गोल गर्दै घरेलु टोलीलाई ३–१ ले स्तब्ध बनायो । डोट्रीले दिएको पासलाई हेल्डरले अफसाइड ट्रयाप विट गर्दै वान भर्सेस वानमा गोल गरेका थिए ।
प्रिमियर लिगका अन्य खेलका नतिजा
ब्राइटन विरुद्ध एभर्टन (०–१)
फुलहम विरुद्ध हडर्सफिल्ड (१–०)
लेस्टर सिटी विरुद्ध कार्डिफ सिटी (०–१)
वाटफोर्ड विरुद्ध न्यु क्यास्टल (१–१)
Post a Comment