काठमाडौं (हाम्रो खेलकुद) – जारी लिगकै उच्च गोलको वर्षा भएको खेलमा न्युरोड टिम एनआरटी र मच्छिन्द्रले ५–५ गोलको बराबरी खेल्दै अंक बाँँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले खेलमा चारपटक अग्रता लिएर पनि जित निकाल्न सकेन । मच्छिन्द्रका विशाल राईले २ तथा भासाडिया डियामान्डे, खामिर गिल्सन कन्दङ्वा र अनिल गुरुङले समान १ गोल गरे । एनआरटीका अशोक थापाले २ तथा सुशिल लामा र कोवासी जिन डिडियरले समान १ गोल गर्दा १ गोल उपहार पाएको थियो ।
पहिलो हाफमै ८ गोल निस्किएको खेलमा मच्छिन्द्रले खेलको चौथो मिनेटमा भासाडिय डियामन्डेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । नवौ मिनेटमा मच्छिन्द्रका गोलरक्षकले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । तर, १०औं मिनेटमा विशाल राईले गोल गरेपछि मच्छिन्द्रले खेलमा २–१ को अग्रता बनायो । २८औं मिनेटमा खामिर गिल्सनले तथा ३०औं मिनेटमा अनिल गुरुङले गोल गरेपछि मच्छिन्द्रले खेलमा ४–१ को अग्रता बनायो ।
दुई मिनेटको अन्तरमा अशोक थापाले दुई गोल गरेपछि एनआरटीले खेलमा फर्कने संकेत दिएको थियो । अशोकले ३३औं र ३५औं मिनेटमा गोल गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुशिल लामाले गोल गरेपछि पहिलो हाफ ४–४ गोलको बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा विशाल राईले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरेपछि मच्छिन्द्रले खेलमा ५–४ को अग्रता लियो । खेल सकिन ४ मिनेट बाँकी रहँदा कोसावीले गोल गरेपछि खेल ५–५ गोलको बराबरीमा सकियो ।
जारी प्रतियोगितामा यो यस खेलमा सबैभन्दा धेरै गोल निस्किएको हो । यसअघि लिगमा ६ गोलको नतिजा निस्किएको थियो ।
Post a Comment