एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्ट्सले घरेलु मैदान आलियान्ज रंगशालामा साम्पडोरियालाई २-१ ले पराजित गरेको छ ।
पछिल्लो समय निकै राम्रो लयमा रहेका रोनाल्डोले खेलको सुरुवाती समयमै गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले तेस्रो मिनेटमा पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै गोल गरे । खेलको ३३ औं मिनेटमा पाहुना टोलीले बराबरी गोल फर्कायो । कर्नर बलमा एम्रे च्यानले ह्याण्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा साम्पडोरियाका भेट्रान स्ट्राइकर फाबियो क्वाग्लीआरेल्लाले बराबरी गोल गरे ।
दोस्रो हाफमा युभेन्ट्सले पनि पेनाल्टी मार्फत नै अग्रता लिएको थियो । युभेका मिरालेम प्यानिचले प्रहार गरेको कर्नरमा साम्पडोरियाका एलेक्स फरारीले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता पुन:स्थापना गरे । त्यसपछि डिबाला र ब्लेस माटुइडीको प्रहारलाई गोलरक्षक एमिल औडेरोले बचाए ।
साम्पडोरियाले दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोगले उक्त गोल मान्य भएन । साम्पडोरियाका रिकार्डो सापोनाराले बराबरी गोल गरेको भन्दै खुसियाली मनाएपनि रेफ्रीले रिप्ले हेरेपछि उक्त गोलको निर्णय उल्टाएका थिए ।
यस नतिजासँगै युभेन्ट्सले लिगमा अपराजित यात्रा कायम राखेको छ । युभेले १९ खेलमा १७ जित र २ बराबरीसंगी ५३ अंक जोडेको छ । यता क्रिस्टियानो रोनाल्डोले पनि जारी लिगमा गोल संख्या १४ पुर्याएका छन् ।
Post a Comment