अहिलेको प्रतिस्पर्धाको युगमा मिल्दो जागिर पाउन पनि गाह्रो छ । जागिर खानका लागि हाम्रोजस्तो देशमा पैसा खर्च गर्नुपरेका तथा घुस खुवाउनु परेका घटना पनि सार्वजनिक भैरहन्छन् ।
तर एउटा देश यस्तो छ, जहाँ जागिर पाउनका लागि होइन छँदाखाँदाको जागिर छाड्नका लागि मानिसहरुले ठूलै पापड बेल्नु पर्दछ । कतिपय मानिसले त जागिर छाड्नका लािग आफु मरेको झुटो खबर पनि फैलाउँदछन् । कतिपयले हाकिमसँग झुटो बोल्नका लागि भाडामा मानिसहरु पनि खटाएका हुन्छन् ।
यस्तो अनौठो हरकत जापानमा हुन्छ । मानिसहरु जागिर छाड्नका लागि अनेक खालका गलत कदम समेत चाल्न थालेपछि जापानमा मानिसलाई जागिर छोडाउनका लागि कम्पनीहरु नै खुल्न थालेका छन् ।
जापानको टोकियोमा बस्ने युइशिरो ओकाजाकी र तोशियुकी निनोले मानिसहरुलाई जागिर छोडाउने कम्पनी खोलेर बसेका छन् । उनीहरुको कम्पनीको सहयोगमा पछिल्लो १८ महिनामा १५ सय पटक जागिरबाट राजिनामा दिन सफल भएका छन् ।
कम्पनीले जागिर छाड्नका लागि छटपटाइरहेका मानिसहरुका लागि ठूलो गुन लगाउँदै आएको छ ।
ओकाजाकीका अनुसार धेरैजसो मानिसहरु जागिर छाड्ने विषयमा आफ्नो हाकिमसँग कुरा गर्न डराउँदछन् । हाकिमले राजिनामा स्विकृत गर्ला नगर्ला ? भन्ने डर हुन्छ । हाकिमलाई मनाउने तरिका सिक्न चाहन्छन् ।
जापानको संस्कृतिमा गरिरहेको जागिर वा काम छाड्नु राम्रो मानिँदैन । जागिर छाड्न चाहने मानिसहरुलाई गलत मानिस ठानिन्छ ।
Exit (एक्जिट) नामको उक्त कम्पनी यस्तै बेलामा काम आउँदछ । जागिर छाड्न चाहने मानिसहरु आफ्नो कार्यालयमा राजिनामा दिनुको साटो उक्त कम्पनीमा जान्छन् र आवेदन गर्दछन् । शुल्कबापत ग्राहकले ५० हजार जापानी येन तिर्नुपर्दछ । त्यसपछि कम्पनीका कर्मचारीले ती ग्राहकको कार्यालयको हाकिमलाई फोन गरिदिन्छन् र उनको राजिनामाको बारेमा जानकारी गराउँदछन् र उनको तर्फबाट राजिनामा पेश गर्दछन् ।
कतिपय अवस्थामा हाकिमले एउटा कलमा मात्र मान्दैन र पटक पटक फोन गरेर मनाउनु पर्दछ । कतिपय कार्यालयहरुले त एक्जिट कम्पनीसँग सम्झौता गर्न चाहँदैनन् र आफ्नो कर्मचारी स्वयं आफै आएर कुरा गरोस् र राजिनामा देओस् भन्ने चाहन्छन् ।
ओकाजाकीका अनुसार जापानमा मानिसहरुलाई जागिर छोड्नका लागि सहयोग गर्ने कम्पनीमा एक्जिट मात्र एक्लो छैन । यस्ता झण्डै ३० वटा कम्पनीहरु अस्तित्वमा रहेको बताइन्छ ।
एजेन्सी
By Nirdesh pokhrel
Post a Comment