बुढ्यौली, जीवनको त्यो चरण हो, जहाँ पुगेपछि हाम्रा खुसी निथि्रन्छ । हाम्रा उमंग, उत्साह सेलाउँछ । जाँगर मर्छ । रहर र आकंक्षाहरु खुम्चन्छ । जीवन उदास, उराठ बन्छ । दिनहरु पट्यालाग्दो बन्छ ।
तर, प्राकृतिक नियम हो । हामी जवान हुन्छौं, प्रौड हुन्छौं र बुढो हुन्छौं । हाम्रो अनुहारको रंग उठ्न थाल्छ । छाला चाउरिन थाल्छ । कपाल फूल्न थाल्छ । मेरुदण्ड कुपि्रन थाल्छ । आँखाको दृष्टि मधुरो हुन्छ । दाँत कमजोर हुन्छ ।
के त्यसो भए बुढ्यौली अभिसाप नै हो त ?
जति-जति उमेर बढ्दै जान्छ, बुढ्यौली दिनहरु सम्झेर हामी थर्कमान हुन्छौं । भयाभित हुन्छौं । हामीलाई लाग्छ, अब जीवन उदेगलाग्दो हुनेछ ।
तर, बुढ्यौली आफैमा दुःखदायी चरण होइन । यो एक प्राकृतिक अवस्था हो । र, हरेक प्राकृतिक कुरा स्विकार्य हुन्छ । अतः बुढ्यौलीलाई कसरी स्विकार्ने भन्ने कुराले हाम्रो जीवनको उत्तरार्द्ध कस्तो हुन्छ भन्ने कुरा तय हुने हो ।
यदि बुढ्यौलीलाई सहज र सामान्य रुपमा स्विकार्ने र त्यस चरणमा पनि उन्मुक्त रमाउने हो भने त्यसमा कसैको रोकटोक हुनेवाला छैन । भलै, हामीमा त्यस्तो जोश नहोला, जुन वैंशालु उमेरमा हुन्छ । तर, हामीसँग त्यो परिपक्कता हुन्छ, जो वैंशालु उमेरमा हुँदैन ।
बुढ्यौली उमेरमा कसरी रमाइलो गर्ने त ? बुढ्यौली जीवनलाई कसरी उमगंमय बनाउने त ? यसै सन्दर्भमा हिन्दी बीबीसी अनलाइनले एक लेख प्रकासित गरेको छ, जहाँ एक पाको दम्पतीको कथा छ ।
कथा अमेरिकाको हो । दम्पती हुन्, डेबी र माइकल कैम्पबेल । उनीहरु आफ्ना अवकासपूर्ण जिन्दगी खुब उमंगका साथ बिताइरहेका छन् ।
उनीहरु जब बुढा भए र रोजगार, कमाई, परिवार सबैबाट उम्किए, तब दुबैले रमाइलोपूर्वक दिनहरु विताउने योजना बनाए । उनीहरुले आफुसँग जे-जति धन-दौतल थिए, ति सबै बिक्री गरे । त्यसपछि घर छाडेर निस्किए, संसार घुम्न ।
उनीहरु पछिल्लो पाँच बर्षदेखि अविछिन्न यात्रामा छन् । उन्मुक्त यात्रामा छन् । यस क्रममा यी दम्पतीले ८० वटा देश घुमिसके ।
सन् २०१३ मा उनीहरुले घर छाडेका थिए । त्यसबेला डेबीको उमेर ६२ बर्षको थियो । माइकलको उमेर ७२ बर्षको थियो । त्यसयता उनीहरु निरन्तर यात्रामा छन् । थाकेका छैनन् ।
उनीहरु घुम्दैनन् मात्र घुमेको अनुभव आफ्ना ब्लगमा शेयर पनि गर्छन् । यी दम्पतीले ‘सीनियर नोमाड्स’ अर्थात बुढो घुमक्कड नाममा ब्लग लेख्छन् । त्यसमा उनीहरुको यात्रा विवरण, अनुभव र अनुभूतिहरु समेटिएका हुन्छन् ।
डेबी भन्छिन्, ‘हामी जान्नका लागि उत्सुक थियौं । विश्वमा हेर्नका लागि धेरै कुरा थियो र हामी त्यो अवसरबाट आफुलाई बञ्चित गर्ने पक्षमा थिएनौं ।’
सबैकुरा बेचे
डेबी र माइकल दुबै जागिर खान्थे । एएटलमा उनीहरुको एक घर थियो । माइकल त्यसबेलाको स्मरण गर्दै भन्छन्, ‘हामी जागिर छाड्दै थियौं र घरलाई भाडामा लगाउँदै थियौ? सिएटलमा हाम्रो कुनै खर्च थिएन ।’
कुनैपनि यात्रा बिना पैसा संभव हुँदैन । खर्च जुटाउनका लागि सबैभन्दा पहिले उनीहरुले आफ्नो बचतको पैसा निकाले । त्यसपछि सिएटलको घर बिक्री गरे । नौका वा बोट र कार बेचे । उनीहरुसँग जे जति थियो, त्यो सबै बेचिदिए ।
सबैकुरा बेचिसकेपछि उनीहरुसँग केवल एक म्याप थियो, जसमा विश्वको मार्गचित्र देखिन्थ्यो । त्यही म्याप फैलाएर उनीहरुले यात्रा सुरु गरे ।
यात्राको सुरुवाती ६ महिना उनीहरु लगातार घुमिरहे । फेरी क्रिसमसको बिदाका लागि उनीहरु सिएटल फर्किए । नयाँ बर्ष सुरु हुनुअघि नै उनीहरु यात्रामा मोडिए ।
उनीहरु होटलको बदला भाडाको घरमा बस्छन् । कतै बस्नुपर्दा उनीहरु एक रातको औसत ९० डलर खर्च गर्छन् । भाडाको जुन घरमा उनीहरु रात कटाउँछन्, त्यसलाई उनीहरु ‘होम अन द रोड’ भन्छन् ।
यात्राको तस्विर हेर्दै डेबी भन्छिन्, ‘पाँच बर्षदेखि यो एडभेन्चर चलिरहेको छ ।’
जहाँ तकिया, त्यही घर
यात्रामा निस्कनुअघि उनीहरुले पुरा बजेट तयार गरे । के कुरामा कति खर्च चाहिन्छ भन्ने अनुमानित विवरण तयार गरे । उनीहरुले के पनि तय गरे भने, बाँकी जीवनभर यात्रा गर्ने हो भने अर्काको घरमा भाडामा बसेरै यात्रा गर्नुपर्नेछ ।
‘हामीले घर बेच्यौ । यो एक ठूलो फैसला थियो । घरको सम्बन्धमा हाम्रो विचार यस्तो कि, जहाँ हाम्रो तकिया हुन्छ, त्यही हाम्रो घर हो ।’
आफुहरुले यतिका लामो दाम्पत्य जीवन खुसीपूर्वक विताएको र दुबैबीच जिन्दगीका सम्बन्धमा कुनै भ्रम एवं मतभेद नरहेकाले पनि यस किसिमको यात्रा संभव भएको उनीहरुको निष्कर्ष छ ।
कतपियले उनीहरुलाई इमेल पठाउँछन् । इमेलमा यात्रा गर्न इच्छुकहरुले केही आइडिया मागेका हुन्छन् । उनीहरुलाई प्रेरित गर्दै ति दम्पतीले जवाफ फर्काउँछन् ।
जीवनलाई कसरी काट्ने भन्दा पनि कसरी बिताउने भन्ने कुरा महत्वपूर्ण हो । जीवन आखिर यसै पनि बित्छ । तर, त्यो क्षणमा कसरी रमाउने भन्ने कुरा आफ्नो निर्णयमा भर पर्छ । उमेर ढल्कनु, बुढो हुनु कुनै दोष होइन । तर, बुढ्यौलीलाई पट्यारलाग्दो बनाउनु हाम्रो गल्ती हो । किनभने बुढ्यौली आफैमा पट्यारलाग्दो हुँदैन, यदि त्यसमा हामी उन्मुक्त, उमंगमय खुसीहरु खोज्छौ भने ।
Post a Comment