१३ कात्तिक, काठमाडौं । वातावरणीय स्वच्छताका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाका १६ वटा नगरपालिका सामुहिक प्रतिवद्धता जनाएका छन् ।
ललितपुरको कुपण्डोलमा भएको उपत्यका नगरपालिका फोरमको पहिलो बिस्तारित बैठकले बढ्दो प्रदुषण नियन्त्रणदेखि उन्नत सहर विकासका लागि ९ बुँदे प्रतिवद्धता जनाएका हो ।
उक्त फोरमले उपत्यकाको बढ्दो प्रदूषण क्रमशः न्युनीकरण गर्दै जाने बताएको छ ।
वातावरणीय स्वच्छताका लागि उपत्यका भित्रका स्थानीय तहहरुले सहकार्य गरेर प्रदुषण कम गर्ने बैठकको प्रतिवद्धता छ ।
उपत्यकालाई उन्नत सहरका रुपमा विकास गर्न महानगरपालिका र नगरपालिकाहरुले संयुक्त र एकल रुपमा पनि काम गर्ने भनिएको छ ।
यस्तै वातावरण सम्बन्धि नीति, कानून र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयनका गरी प्रदुषणा घटाउन संस्थागत संस्थागत संरचनाहरु परिचालन गरिने फोरमका संयोजक तथा काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले जानकारी दिए ।
उपत्यकाको प्रदूषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थापन, वृक्षारोपण गरी हरियाली प्रवद्र्धन र पुराना सवारी साधन विस्थापन गर्ने उनले बताए ।
प्रदुषणा सृजना गर्ने पुराना सवारी साधन विस्थापनमा जटिलता आए केन्द्र सरकारलाई पनि आग्रह गरिने प्रमुख शाक्यको भनाइ छ ।
प्रदूषण बढाउने हानीकारक उद्योगधन्दा तथा पेशा व्यवसायलाई सुधार्ने र आवश्यक परे अंकुशसम्म लगाउने शाक्य बताउँछन् ।
उनले पेट्रोलियम पदार्थ गुणस्तहीन हुँदा पनि प्रदूषण हुने भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताए ।
उपत्यकाको ढल निकासलाई नदीबाट अलग गरी निर्मलीकरण गर्ने फोरमको प्रतिवद्धता छ ।
विकास निर्माणका कामले भइरहेको धुँवाधुलो नियन्त्रणका लागि पनि सजगता अपनाउने भनिएको छ ।
०७५ असोज १९ गते काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यको संयोजकत्वमा गठित उपत्यका नगरपालिका फोरममा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकासँगै ११ वटा नगरपालिका, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकासँगै ३ वटा नगरपालिका र भक्तपुरको ४ नगरपालिका सम्मिलित छन् ।
By Nirdesh pokharel
Post a Comment