१४ कात्तिक, गुल्मी । गुल्मीमा एक जना छात्राले प्रेम सम्बन्धका कारण विष सेवन गरेकी छन् । उनले आफ्ना दुईजना साथीलाई समेत विष सेवन गराएको प्रहरीले जानकारी दिएको छ ।
रेसुङ्गा नगरपालिका १० स्थित भगवती माध्यामिक विद्यालयमा कक्षा-१० मा अध्ययन गर्ने समीक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरी बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपककुमार बस्नेतले जानकारी दिए ।
बुधबार स्कुलमै मुसा मार्न प्रयोग हुने विष बोतलमा घोलेर सुरुमा समीक्षाले खाएको र पछि अरु २ जना साथीहरूलाई खानेपानी भनेर खुवाएको एसपी बस्नेतले बताए ।
बिहान अतिरिक्त कक्षा चलिरहेको समयमा उनीहरुलेे विष सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवन गरेका तीनै जनालाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको छ ।
समीक्षाले प्रेम सम्बन्धका कारण तनाव भएपछि विष सेवन गरेको बताएको प्रहरीले जनाएको छ । अन्य दुईजनालाई भने समीक्षाले नै पानी भनी खान लिएको प्रहरीले बताएको छ ।
By Nirdesh pokharel
Post a Comment